[Show all top banners]

focusnepal

More by focusnepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म यो सहरकी सुखी आमा
[VIEWED 5270 TIMES]
SAVE! for ease of future access.
Posted on 10-25-08 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यो सहरकी सुखी आमा


 

दुई महिनाअघिसम्म खसी बजारमा घाँस पुर्‍याउने यी आमैको सरुवा भएको छ । ‘घाँसी आमै’ बाट अहिले यी माग्ने आमै भएकी छिन् । भद्रकाली मन्दिर परिसरलाई कर्मथलो बनाएकी छिन् यिनले । हुन त राजधानीमा माग्ने र घाँस काट्नेको कुनै कमी छैन । उनका भन्दा सयौंगुना दुःखका पहाड चढेका असंख्य मानिस भेटिन्छन् यहाँ । ८० कटेकी यी आमै उनीहरूभन्दा भिन्न यसकारण भइन्, उनी घाँस काट्दा पनि सुखी छिन्, माग्दा पनि सुखी । 
भद्रकाली मन्दिरमा मुसेली आमासँग भेट्दा उनी डबल गन्दै थिइन् । मैले प्रश्न गर्न नभ्याउँदै उनले उत्तर दिइन्, ‘भोलि घरबेटी भाडा लिन आउँदै छन् । भोलि १० गते होइन् ? त्यसैले पैसा पुर्‍याउँदैछु ।’ 
मुसेली आमासँगको मेरो चौथो भेट थियो । उनलाई यति धेरै नरम मैले पहिला पाएकी थिइन् । उनलाई मुसेली नामले कमैले चिन्छन् । ‘खसी बजारकी आमा’ उनको ‘ब्रान्ड नेम’ हो ।
खसी बजारका हरेक सदस्य उनको ‘हुङ्कार’सँग परिचित थिए । उनको छेउमा जानु र उनको विषयमा सोध्नु निकै साहसपूर्ण काम हुन्थ्यो । उनका छेउमा पर्ने हरेक अनजान मानिस उनका लागि लुटेरा थिए । त्यसैले त उनीसँग बोल्न चाहनेलाई आँसी -हँसिया) देखाएर तर्साउँथिइन् । अविश्वासको पनि बलियो कारण छ उनीसँग ।

उनी टेकुमा बस्दा साहुले घर छाड्दे भनेको तीन दिनजति भएको थियो । सुकुम्बासी टोल थियो । उनलाई लाग्यो, ‘सबै बसेका छन् म पनि बस्छु ।’ उनीसँग राम्रो पलङ थियो, टेबुल पनि थियो । राति चार/पाँचजना आए । उनलाई कुट्नसम्म कुटे । मरी भन्ने लागेपछि उनीहरू गए । उनी जिउँदै थिइन् । भागेर टेकु चौकीमा पुगिन् । कुरा सुन्नु त कता त्यहाँबाट उल्टै लखेटिइन् । ‘म ट्याक्सी चढेर कालीमाटी पुगेँ । त्यो सिपाही पनि मिलेको रहेछ ।’ उनले पहिलोचोटी रहस्य खोलिन् । ‘ मलाई झपारेर किन आएको भन्यो । म यहीँ बस्छु भनेर बसेँ, अनि ज्यान जोगियो ।’
यति मात्र होइन्, घाँस काटेर दुई लाखजति कमाएकी थिइन् उनले । एकपटक मीनभवनमा उनलाई ‘ठक्कर’ दिएर दुई/तीनजनाले ८० हजार जति लुटे । त्यो पैसा उनको पोल्टामै थियो । ‘माओवादीले मलाई धक्का दिएर लडाए अनि मेरो पैसा लुटे,’ लुटेरा सबै माओवादी हुन् जस्तो लाग्छ उनलाई । त्यसको पीरले उनी तीन दिन सुतिनन् । पुतलीसडकको वाणिज्य बैंकमा उनले अलिकति पैसा राखेकी थिइन्, नागरिकताको चलन नहुँदा । अहिले त्यो पैसा दिन मान्दैनन् बैंक, किनकि उनीसँग नागरिकता छैन । ‘मेरो पैसा त्यो बैंकले खायो । मसँग भएको त्यो कागज पनि हरायो,’ उनी भेटेजतिलाई गुनासो गर्न भुल्दिनन् । यस्ता विपत्ति आइलागेपछि उनले अपरिचितलाई मात्र होइन चिनेकालाई पनि विश्वास गर्न छाडिन् । उनका आफ्नै छोरा पनि त्यसका अपवाद होइनन् । 

यिनको जन्मथलो र कर्मथलो रामेछापको बिजुलीकोट । उमेर थाहा छैन, ०२९ सालमा यी काठमाडौं आइन्, त्यो बेला ४० कटिसकेकी थिइन् । आमा थिइन् । बा मुसली दुई वर्षको हुँदै मरेका, तीन दिदीबहिनी, एक दाजु । गाउँमै उनको बिहे भयो । श्रीमान् मरेपछि उनी आमासँगै बस्थिन् छोरो लिएर । आमा पनि मरिन् । आमाले उनको नाममा केही पाटो जग्गा राखिदिएकी थिइन् । दाजु इन्डियन आर्मीमा थिए । छोरा नभएकाले उनले ‘साठी र एक वर्ष’मा अर्का भाउजू बिहे गरे छोरा पाउन । तिनै छोरा पाउन ल्याएकी भाउजूले २०२८ सालतिर त्यही पाटो जग्गाका लागि उनलाई बारीमा लौरैलौराले हानिन् । फेरि लौरो नखान र लौराको डाम मेट्न उनी काठमाडौं हानिइन् गाउँकी एक सुब्बेनी बाहुनीसँग । ‘महेन्द्र पोहोर मर्‍यो, यो वर्ष हामी काठमाडौं आएको,’ उनले भनिन् । 
उनको बिहे कहिले भयो ? उनैलाई नै याद छैन । कति वर्षकी थिइन् त्यसबेला ? त्यो पनि याद छैन । यति मात्र होइन, उनलाई आफ्ना श्रीमान्को नामसमेत याद छैन । फगत, यत्ति थाहा छ, ‘श्रीमान् कलकत्तामा काम गर्थे ।’ के काम गर्थे उनलाई नसोधौँ किनकि उनलाई यो पनि थाहा छैन । उनी कहिल्यै श्रीमान्सँग कलकत्ता गइनन् । त्यसैले उनलाई थाहा छैन । 

‘हामी नपढेकालाई कसरी याद हुन्छन् यस्ता कुरा,’ उनले भनिन् । नपढेर के भयो, उनी त आमा हुन् नि ! भन्छिन्, ‘छोराछोरीको पो याद हुन्छ ।’ त्यो भने उनलाई राम्ररी याद छ । त्यो हो- महेन्द्र राजा मर्नुअघि उनका ‘राजा’ मरे । 
कोही छैन उनको साथमा । आफूले जन्माएको ‘मुटुको टुक्रा’को एक प्रति फोटोसम्म पनि छैन । किन ? ‘आफ्नो त छैन अरूको किन राख्ने ?’ माटोले टालिएको हात कन्याउँदै अचम्मको कारण सुनाइन्, ‘एकपटक पैसा माग्न आएको थियो, अहिले आएको छैन । पैसा दिन्न । त्यसैले आउँदैन अचेल ।’ 
छोरा कता छ ? उनलाई जानकारी छैन । ‘हाँडीगाउँतिर छ रे भन्ने सुनेकी छु,’ ‘रे’ सुनाइन्, ‘नभेटेको १२ वर्ष भयो,’ यसो भन्दा उनको अनुहारमा कुनै दुःख झल्किएन । छोरा लिन आए जानुहुन्छ ? 
‘अँहँ, जान्न आफूलाई मन लागेको खान पाइँदैन कमाएकी छु । एक्लै बसे मीठोमीठो खान पाइन्छ । म त जान्नँ बाबै,’ उनले धक 
फुकाएर भनिन् ।

घरमा जग्गा थियो ६ रोपनीजति अन्न फल्ने । छोराको नाममा थियो, अहिले के गरेको छ, थाहा छैन् । काठमाडौं आएपछि पनि उनी कहिलेकाहीँ जान्थिन् भेटघाट गर्न । आजकल जान छाडिन् । यसमा पनि उनी दुःखी छैनन् । 
मुसलीलाई लाग्छ उनीभन्दा उनको छोरा दुःखी छन् । ‘उसलाई पैसा कमाउन गाह्रो छ । म त सुखी छु, मलाई पैसा कमाउन सजिलो छ,’ उनले छोराप्रति सहानुभूति देखाइन् । छोराप्रति उनको अन्य गुनासो छैन । गुनासो सुनाएर केही हुन्छजस्तो पनि उनलाई लाग्दैन् । ‘भनेर के हुन्छ ? मैले जति त कसैले भोगेको छैन । नभनेर पो मेरा ‘सत्तुर’ त धेरै छन्,’ उनी ठान्छिन् । 
उनको डल्लुमा कोठा छ, महिनाको पाँच सय भाडा तिर्छिन् । उनको कोठाको पनि छुट्टै कहानी छ । पहिला मीनभवन बस्थिन्, सटरको कोठा थियो । महिनाको सय तिर्थिन् । दस वर्ष बसिन्, त्यसपछि घरबेटीले महंगीको कुरा गर्दै भाडा बढाए । उनीसँग नयाँ कोठा खोज्नुको विकल्प रहेन । दुई/चारजनालाई कोठा खोज्न लगाइन् ‘कमिसन’ दिनेगरी । बल्लबल्ल एक वृद्धले डल्लुमा कोठा खोजिदिए, दुई सय कमिसन खाएर । ती वृद्ध त्यसै घरमा बस्थे । उनी सरेपछि वृद्धले त्यो घर छाडिदिए । तर, किन ? उनले अहिलेसम्म बुझेकी छैनन् । घर सिमेन्टले बनेको छ । त्यसैले उनलाई राम्रो लाग्छ ।
त्यो कोठा सुत्न र खाना पकाउन मात्र प्रयोग गर्छिन् उनी । कोठाका सबै समान उनीसँगै हिँड्छन् । उनी सधँ भाँडाकुँडा साथमै बोक्छिन्, आफूसँग भएजति । एउटा कसाँडी, दुईवटा थाल, दुईवटा कचौरा र तीनवटा जति ‘जम्बो’ बोतल उनका कुल भाँडाकुँडा हुन् । ती सबै उनी बोकेरै हिँड्छिन् । अहिले माग्न थालेपछि एउटा दानीले उनलाई नयाँ डस्ना दिएका छन् । त्यो पनि साथमै बोक्छिन् । 
‘एउटा पुरानो डस्ना घरमै छ । यो नयाँ भएकाले बोकेको,’ उनले भनिन् । यिनलाई साथमा लिएर हिँड्दा दुईवटा फाइदा छन् । एक भाँडा चोरिने डर हुँदैन, अर्को जहाँ मन लाग्यो त्यहीँ पकाएर खान पाइन्छ । ताल्चा लगाएको कोठाबाट पनि भाँडा चोरिन्छ र ? ‘चोरिँदैन त, ताल्चा त प्याक्क गइहाल्छ नि,’ उनलाई आजकलका खासा कम्पनीका ताल्चामा विश्वास छैन ।

‘मेरो साढे तीन सय परेको भुस्से चुल्हो त्यहीँबाट हरायो,’ चोरीको प्रमाण दिइन् उनले । उनी खाना एकपटक मात्रै पकाउँछिन् बेलुका, त्यहीँबाट अलिकति बिहानलाई राख्छिन् ।
घाँस काट्ने बेलामा उनी ११ बजेतिर मात्र उठ्थिन् । आजकल सातै बजे उठ्दा पनि ढिला हुन्छ । यहाँ मान्छे आएर गइसक्छन् । त्यसैले चाँडो उठ्न परेन?’ उनले भनिन् । निद्रा नै बढी लाग्छ उनलाई । ‘मलाई कस्तो बोक्साबोक्सी लाग्छ, बिहान नेवारहरू बाजा बजाएर स्वयम्भूबाट र्फकेपछि मात्र उठ्छु,’ उनी ठूलो हाँसो हाँसिन् । 
सरकारले वृद्धाभत्ता छुट्याएको उनलाई थाहा छ । तर, उनले अहिलेसम्म लिएकी छैनन् । आफूसँग नागरिकता नभएकाले वृद्धाभत्ता नपाएको उनको गुनासो छ । उनले नागरिकता नबनाएकी भने होइनन् । जनमतसंग्रहताका आमाछोरा जहाज चढेर रामेछाप पुगेका थिए, नागरिकता बनाउन । ‘नागरिकता बनाउन जहाज चढ्दा धेरै पैसा गयो, पछि बागबजारमा हरायो,’ पश्चातापविहीन हाँसो हाँसिन् उनी । 
बिहान १० बजेतिर उठ्नु, बेलुकाको रेडिमेड खाना तताएर खानु अनि राम्रो घाँसको खोजीमा काठमाडौंका जमिन चहार्नु, ४ बजेतिर खसीबजारमा घाँस पुर्‍याउनु र बेलुकी ६ बजेतिर बिहानसम्मलाई पुग्नेगरी खाना पकाउनु उनको दैनिकी थियो । उनको बुढ्यौलीसँगै त्यो दैनिकी पनि फेरियो अहिले ।

उनी अहिले आउने सबैलाई थोते हाँसो देखाएर स्वागत गर्छिन् । आजकल उनको नजर काठमाडौंको जमिनबाट हटेर दाताको हातमा हुन्छ । उनलाई घाँस काट्न रमाइलो टुँडिखेल लाग्यो । खसीबजारबाट नजिक पनि थियो र घाँस पनि थियो । 
मुसलीको खानाप्रतिको लगाव पनि अचम्मको छ । उनलाई भात त्यति मीठो लाग्दैन । उनी चिउरा खान्छिन् । त्यो पनि माछाको टाउकासँग । टाउको नै किन ? ‘घाँटीमा अड्किँदैन त्यसैले,’ उनले टाउकाको ‘विज्ञापन’ गरिन् । अहिले टाउको कहिलेकाहीँ खान्छिन्, पैसा धेरै कमाएको दिन । अरू दिन दस रुपैयाँमा पाइने भुटेको माछामा चित्त बुझाउने गरेकी छिन् । ‘दुई सय कमाउँदा र पचास कमाउँदा एउटै हुन्छ त ? आजकल म त्यहीँ भुटेकोमा पानी हालेर खान्छु,’ उनले मितव्ययी हुन सिकाइन् । 
मुसेली त्यति रोगी छैनन् । एकपटक उनको पेटमा डल्लो पलायो, कान्छीऔंला जत्रो मोटो । उनी अस्पताल गइन् । डाक्टरले औषधि दियो । गाह्रो भए वीर अस्पताल जान भनेको थियो । उनलाई लाग्यो, पेटमा घाउ छ । त्यसपछि चिया खान छाडिदिइन् । मासको दाल पनि खान्नन्, घाउ पाक्ने पीरले । त्यो डल्लो अझै छ त्यसैले अझै पनि छोडेका कुरा खान सुरु गरेकी छैनन् । घाउ पाके आफू मर्ने डर छ उनलाई । उनी चुरोट पनि खान्थिन्, काठमाडौं आएपछि याक । त्योभन्दा पहिले सालको पातमा सुर्ती बेरेर । त्यही डल्लो आउँदा डाक्टरले नखा भनेपछि छाडिदिइन् । केही वर्षअगाडि उनको दाँतले धेरै दुःख दियो उनलाई । उनी वीर हस्पिटल गइन्, उपचार गर्न । च्वाट्टै निको भयो । ‘दाँत दुःखेकाहरू वीर हस्पिटल जानुपर्ने रहेछ,’ उनले फेरि ‘विज्ञापन’ गरिन् । भद्रकालीमा माग्न थालेपछि तरकारी बाँड्न ल्याउनेले उनलाई पनि दिन्थे तर, उनले खान छोडिन्, पेट दुख्ने भएर । 
उनी सिनेमा हल एकपटक मात्र गएकी छिन् छोरासँग, कुमारी हल । कुन फिल्म थियो ? याद छैन । ‘मान्छेले सेतो ओड्थ्यो, सेतो ओड्ने फिल्म के ?’ सम्झिन खोज्दै उनले भनिन् । 
उनी वर्षको एकपटक नुहाउँछिन् पानी पर्दा असारतिर । आफूलाई नुहाउनै आवश्यक नभएको उनको निचोड छ । लुगा पनि भिज्यो भने अर्को फेर्छिन्, नत्र त्यही लगाउँछिन् । यो वर्ष उनलाई असार आएन । उनी भन्छिन्, ‘पानी परेपछि नुहाउने हो । खै त पानी परेको ?’ यो वर्ष उनले नुहाउने पानी परेकै छैन । 

मुसलीले ‘नेपाल’ छिरेपछि के गरिनन् ? परिवार नियोजनको अफिसमा ढुंगा कुटिन् । ज्यामी काम पनि गरिन् । धेरै साहुकोमा भाँडा माझ्न बसिन् । परिवार नियोजनको अफिसले त पैसा दिन्थ्यो । ज्यामी काम गर्दा भने साहु कचकचे थियो, पैसै नदिने । त्यविपछि लागिन घाँस काट्न । यो ‘पेशा’ मा पनि उनको २२ वर्ष वित्यो । पहिला त काठमाडौं आधाआधी जंगल थियो, अहिले पनि जंगल नै छ । फरक यत्तिको हो, पहिले रुखैरुखको, अहिले घरैघरको । उनलाई पहिलेको जंगली काठमाडांै मन पथ्र्याे, किनकि त्यसबेला घाँस पाइन्थ्यो । 
उनलाई एकपटक वृद्धाश्रम जाने जङ्ग चल्यो, त्यो पनि कोठा नपाएर । उनी गइन् । वृद्धाश्रमकाले के के कागजात मागे । उनलाई सबै झन्झट लाग्यो, त्यसपछि उनी र्फकेर गएकी छैनन् । अब जानुहुन्छ ? ‘अँहँ, कमाएर खान सकिहाल्छु नि,’ माग्ने जागिरबाट सन्तुष्ट हुँदै उनले भनिन् । 
माग्न सजिलो रै’छ त आमा ? ‘सजिलो नि बा, बस्यो माग्यो, पैसा पो कम हुन्छ,’ उनी दाँतविहीन हाँसो हाँसिन् । ‘घाँस व्यापार’मा धेरै पैसा कमाइने भए पनि आजकल हिम्मत नै नआएकाले घाँस बेच्न छाडिन् । 

हाम्रो संवाद सुनिरहेका दुई महिलाले उनलाई पाँच रुपैयाँ दिए । उनले लिन अस्वीकार गरिन्, अनि, भनिन्, ‘तिम्लाई भाडा चाहिएला नि नानी ! मलाई किन दिनु ? मसँग त पैसा छ,’ उनी उदार देखिइन् । 
माग्न बस्दा उनलाई धेरैले माया गर्छन् । एकजना ‘दानी’ले उनलाई छाता पनि दिएका छन् । त्यो छाता उनका लागि एउटा घरभन्दा कम छैन् । ‘मलाई पैसाभन्दा धेरै खानेकुरा दिन्छन्,’ नजिकको पसल देखाउँदै उनले भनिन् । ‘सबैभन्दा धेरै पैसा स्वयम्भूमा पाइन्छ,’ उनले भनिन् । आफूहरूसँगै भर्खरका ठिटाहरू माग्न बसेको देख्दा उनलाई अचम्म लाग्छ । ‘यस्ताले कम पैसा पाउँछन्, हाम्लाई पाँच रुपियाँ दिनेले यिनलाई एक रुपियाँ दिन्छन् । भगवान्ले पनि केटाहरूलाई माया गर्दा रहेनछन्,’ उनलाई लाग्छ । स्वयम्भूमा किन नगएको त ? स्वयम्भूमा त बूढो भएपछि पो जाने, म किन जानु ?’ उनले जवानी झल्काइन् । यिनलाई उमेर घर्केको कहिले लाग्ने होला ? 
copy from focusnepal.blogsome.com

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters