[Show all top banners]

columbiauniversity
Replies to this thread:

More by columbiauniversity
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 स्वर्गमा बिहे!
[VIEWED 14548 TIMES]
SAVE! for ease of future access.
Posted on 03-01-16 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सर! मेरो नागरिकता बनाइदिनुस् न।
 
एउटी युवती झ्यालबाट फाइल छिराउँदै बोलि। खोइँ! सिफारिस ल्याउनुभएको छ?
 
हजुर सर सप्पै छ। एसएलसीको सर्टिफिकेट, जन्मदर्ता, बाबाको नागरिकता...। 
 
खोइ बुवा आमा को आउनुभा'छ? 
 
उ बाबा आछन् (बाबा यता आउ न) हातले इसारा गर्दै आफ्नो बुवालाई बोलाइ
नागरिकता बन्छ सर?
 
हजुर बन्छ, एकछिन् पर्खिनुपर्छ। 
 
जवाफ सुन्नासाथ उ आज्ञाकारी बालकझैं खुरुक्क नजिकैको बेन्चमा गएर बसी।
 
केही समयमा हाकिमले नागरिकता बनाएर उसको हातमा थमाइदिनुभयो। उ फुरुक्क पर्दै  घरतिर लागि। 
 
'सुवास कोइराला' प्लस टु पढ्दादेखिकै मेरो मिल्ने साथी हो। गत महिनामात्र लोकसेवामा नाम निकालेर जिल्ला प्रशासन कार्यालय मुस्ताङमा जागिर सुरु गरेको । साथी यतै भएको कारणले उसैलार्इ भेट्ने बहाना बनाएर  म १५ दिनका लागि मुस्ताङ घुम्न आएको हुँ। त्यस दिन साथीको कार्यालय गएको बेला मैले प्रत्यक्ष सुनेको सम्बाद हो यो।
पुसको दिउँसोको ४:३० बजे नै साथीको काम सकियो र खाजा खान त्यहीँ नजिकैको होटेलतिर छिर्यौं। सुबासले भेज म:म अर्डर गर्‍यो। पाँच मिनेटपछि एउटी  युवती प्लेटमा म:म लिएर आइ।  मुस्ताङको स्याउ जस्तै राता गाला, बाटुलो अनुहार, पिठ्युसम्म झरेको कपाल, गहुँगोरी, भर्खरै बैंश भरिदै गरेकी त्यो युवतीलाई देख्ने जो कोहिले पनि उसको बर्णन नगरी बस्न सक्दैन।  म:म टेबलमा राख्दै हामीतिर पुर्लुक्क हेरी र फेरि  किचनतिरै छिरि। हामी पनि अल्लारे न परियो। पुन: उनलाई जिस्काउने मन भयो। 'पानी दिनुस् न' साथी फ्याट्ट बोलिहाल्यो। 
 
ए फुलमाया! उता पानी लगिदे रे। उ उहीँ (फुलकुमारी तामाङ) थिइँ जो दिउँसो नागरिकता बनाउन जिप्रका गएकी थिइँ। उसको घरमा बोलाउने नाम फुलमाया रहेछ। त्यसको भोलिपल्ट देखि हाम्रो बिहानको चिया देखि बेलुकीको खाजासम्म त्यहीं हुन थाल्यो ।  फुलमाया ले केही सुनाइछ कि कुन्नी? अर्को दिनदेखि त सबैले सर सर भन्न थाले। त्यहाँ पुग्नासाथ बडो सत्कार गर्न थाले। केही दिनमा नै फुलमाया हामीसँग अलिक खुलेर हाँस्ने बोल्ने गर्न थाली। केही दिनको घुमघाम सकेर म पोखरा फर्के।  जति दिन त्यहाँ रहें मुस्ताङ त नेपालको स्वर्ग नै रहेछ भन्ने भान भयो। त्यहाँको सुन्दरता मैले शब्दमा बर्णन गर्न खोजें भने आफै हराउन सक्छु । 
 
सुबासको र मेरो दैनिक जस्तो कुरा हुन्थ्यो। फोन उठाउना साथ उसले फुलमायाको कुरा जोडिहाल्थ्यो। अचेल फुलमाया अति नजिकिएकी छ। मैले त बसाइ पनि त्यही नजिकै सारेको छु। हिजो शनिबारको बिदा पनि संगै बितायौं। मलाई माथिल्लो माङ्टाङ घुमाउन लगेकी थिई। जिन्दगीकै रमाइलो क्षण बन्यो यार। हेर है फसाउलास् नि सोझिलाई। मैले जिस्काउथें। ठट्टा नगर न यार। फुलमायाको सोझोपन अनि उनको स्वभावले मलाई लोभ्याउन थालेको छ। के भो के भो यार! अचेल फुलमायाको माया लाग्न थालेको छ। लाग्छ, उसले पनि मलाई निस्वार्थ प्रेम गर्छे।
 
उसो भए त जन्ति जान पाइएला जस्तो छ नि? म उसलार्इ जिस्काउँथें। नजिस्का न यार। उ भने सिरियस हुन्थ्यो। कहिले फुलमायासँग एकान्तमा भएको कुराकानीको रेकर्ड सुनाउँथ्यो ।  'हजुर मलाई छोडेर जानुहुन्छ होला? मलाई एक्लै छोडेर कहिल्यै पनि कतै नजानुस् है। जहाँ गएपनिसँगै लैजानुस् है। फुलमायाले भनेकी हुन्थी।  सुबासले सम्झाउँदै भन्थ्यो। हुन्छ, फुलमाया हुन्छ। म कहिल्यै छोड्नेछैन। तिमी र म जिन्दगीभर सँगै बस्नेछौं । एकपटक पोखरा आउँदा कुरैकुरामा सुवासले सुनाएको थियो। एक दिन फुलमायाको बाबा आमा मामाघर गएका थिए। सदा जस्तै अफिस सकेपछि खाजा खान गएको थिएँ। त्यो दिन त पुग्नासाथ छ्याङ र सुकुटी टकारी। तिमीले पनि सँगै खाने भए खान्छु नत्र खान्न भनेर मैले घुर्की लगाएँ। उसँगै बसेर खान सहमत भई।
 
विस्तारै साँझ पर्दै गयो, साँझसँगै छ्याङको मात पनि बढ्दै गयो। बैंशको आवेगमा हो कि नशाको मातमा उस्ले मलार्इ सम्पुर्ण तन मन समर्पण गरी उ मभित्र हराइ, म उभित्र हराएँ। अलिकति उ ढल्किइ मतिर, अलिकति म ढल्किएँ उतिर, दुई फरक मन फरक शरीर क्षणभरमै एक बने। भोलिपल्ट बिहान ब्युँझिदा उज्यालो भैसकेको थियो। म हतार हतार  कोठामा फर्केको यार। कहिले काहीँ त मलाई आरिस लागेर आउँथ्यो। 'जसले मह काड्छ उसैले हात चाट्छ' म प्राय चुपचाप बस्थें। अर्को भेटमा उसले फुलमायाकै प्रसँगमा भनेको थियो। केही दिन अघि मुक्तिनाथ मन्दिरमा दर्शन गर्न गएका थियौं। मुक्तिनाथलाई साक्षी राखेर वाचा गरेका छौँ जिन्दगीभर नछुट्टिने भनेर। उ  गम्भिर देखिन्थ्यो।
 
फुलमायासँग मेरो नि परिचय भयो। कहिले काहीँ कुरा हुँदा भाउजु भनेर जिस्काइदिन्थें फुलमाया लाजले भुतुक्कै हुन्थिन्।  ति कालीगंगा मुलबाट सुरु भएर छाँगा छहरा हुँदै उर्लिदै मच्चिदै सागरमा पुग्छिन् अनि अटल रहन्छिन्। आशा छ, यिनिहरुको प्रेमपनि उर्लिदै अघि बढ्नेछ र प्रेम सागरमा पुगी अटल रहनेछ ।
***
सुबास र फुलमायाको प्रेम सम्बन्ध सुरु भएको पनि दुई वर्ष बितिसकेको थियो। फागुनमा विवाह गर्ने योजना बनाएछन्। साथीले १५ दिनको अफिस बिदा मिलाएर पोखरा आयो र हामीसँगै सुबासको घरतर्फ गयौं र त्यो रात सुबासकोमै बित्यो।
 
साथीको घर पोखरा नजिकै पुम्दिभुम्दी गाबिसमा पर्छ। उनीहरुको परिवार ठूलो खान्दानीवाला हुन्। गाउँमा नै उच्च कोटीको परिवार मध्येमा गनिन्छन्। म भने मालेबगरमा कोठाभाडामा बस्छु र पिएन क्याम्पसमा मास्टर गर्दैछु।
 
भोलिपल्ट बिहान अप्ठ्यारो मान्दै घर परिवारसँग आफ्नो विवाहको कुरा चलायो। विवाह गर्ने कुराले सबैजना खुशी भए तर त्यो खुशी धेरै बेर टिक्न पाएन। साथीले केटी मैले खोजेको छु भन्नासाथ वातावरण एकाएक सुनसान बन्यो। साथीले बिस्तारै सुनायो। उ फुलमाया तामाङ हो। उसको कुरा नसकिदै घरमा भाँडोभैलो मच्चियो। 
 
उ तामाङकी छोरी तँ बाहुनको छोरो। जात मिल्दैन, हुँदैहुँदैन तैले यस्ता कुरा नगर। बुवाले पाखुरा मिच्दै मुर्मुरिए। दाजुभाइले पनि कुलको इज्जत फाल्ने भयो भन्दै तथानाम गाली गरे। जात नमिलेर के भो त? फुलमायाको र मेरो मन मिल्छ। प्रेममा जातभात हुँदैन। उ र म खुशीसाथ जिन्दगी बिताउन सक्छौं साथीले थप्यो। त्यतिकैमा ठूलाबाउले छाती पिट्दै भने।
 
'यदि त्यही केटीलाई ब्या गर्ने होस् भनि बाटो लागिहाल्, यो घर बस्निहोस् भनि हाम्ले भनेको मान्नपर्छ ।' सुबासले जवाफ फर्कायो। 'चाहिंदैन मलाई कोही, कहिल्यै झुक्किएर पनि टेक्ने छैन यो घर, एउटा छोरो मर्यो, सम्झे हुन्छ।
जा-जा तँ गैहाल्, सरकारी जागिर खाएँ भनेर ठूलो बन्छन? चाहिंदैन तँ गैहाल्।' उसका बाबु झर्किए। आमा पिलपिल रुन थालिन तर अरुको जिद्धीसामू आमाको केही लागेन। 
 
हामी झोला टिपेर हाम्रो बाटो लाग्यौं। त्यसदिन मेरो कोठामा गएर बस्यौं। उ धेरै तनावमा छ बडो थकित देखिन्छ। उसको घर परिवारको त्यस्तो व्यवहारले म आफुसमेत थाकेको छु। साथीलाई सान्त्वना दिँदै भनें। 'किन पिर मान्छस् यार। साथी दिने म छंदैछु नि। अब यथासक्य छिटो बिहे गर्नुपर्छ। परिवार त पछि ठाउँमा आइहाल्छन नि।'
 
साथीले मेरो कुरामा सहमति जनायो। र फागुन १५ गते उतै मुस्ताङमा बिहे गर्ने निधो गर्यौं। उसले उतिबेलै फुलमायालाई उक्त कुरा फोन गरेर सुनायो। फुलमायाको खुशीको सिमा नै रहेन ।
फुलमायाको घरतर्फ भने खासै समस्या थिएन। पहिले त मानेका थिएनन् रे यसरी पाहुना जस्तो अन्तबाट आएको मान्छेसँग बिहे गर्न हुँदैन भनेर। तर फुलमायाको जिद्धीपश्चात  केही दिनमा सहमत भए रे। फुलमायाले फोनमा सुनाएकी थिर्इ।
 
***
विवाह दिन आउन पाँच दिनमात्र बाँकी थियो। साथी र चिप्लेढुंगा गयौं। फुलमायालाई बेहुली साडी, चोली, घुम्टो लगायतका सामान किन्यौं। सुन पसलमा गएर तिल्हरी, मंगलसुत्र, झुम्का अनि एक सेट पाउजु बनायौं। शृंङ्गार पसलमा गएर सिन्दुर, चुरा पोते र सिंगारका सामानहरु किन्यौँ। सुबासको लागि चिटिक्कको कोट पाइन्ट, टाइ, कालो जुत्ता, ढाका टोपी र चस्मा किन्यौं। 
 
साथीले भोलि बिहानसँगै जाने भन्दैथियो। मेरि आमा गाउँबाट उपचारको लागि पोखरा आउँदै हुनुहुन्थ्यो। त्यसैले म सँगै जान सकिन। साथीलाई म फागुन १४ गते मात्र आफु आउने कुरा सुनाएँ। साथीले दु:ख मन गर्दै भन्यो-'मेरो बिहेमा जन्ति भनेनी लोकन्ती भनेनी तँ मात्र त होस्। जसरी नि आइज् है।'  विश्वास गर यार आउँछु भनेपछि  आइहाल्छु नि। मैले जवाफ दिएँ। अनि त्यहीँ नजिकै कन्सल्टेन्सीमा गएर जहाजको टिकट काट्यौँ। तारा एयरको टिकट, उडान फाल्गुन १२ गते बिहान ७:५५ बजे। 
 
अर्को दिन बिहान सबेरै उठ्यौँ र नित्यकर्म सक्नासाथ चिया पिउँदै ट्याक्सीलाई फोन गरेँ। पाँच मिनेटमै ट्याक्सी आइपुग्यो। विवाहको सामान लोड गर्यौ र बिहान ७:३० मा एयरपोर्ट पुग्यौँ। केही मिनेटपछि, हात मिलायौँ अंकमाल गर्यौ र शुभयात्रा भनेँ र साथी गयो जहाज भएतिर। म फर्किएँ बाँसस्थलतिर। म पृथ्बीचोक आइपुग्दा जहाज उडेको देखियो। मेरो साथी गयो। मन ढुक्क भयो। म सिर्जनाचोक गएँ र बगर जाने बसमा चढेँ।
 
बसबाटै फुलमायालाई फोन गरेँ र सुबास आउँदै गरेको खबर सुनाएँ। अनि आफु १४ गतेमात्र आउने जानकारी दिएँ। हजुर जसै आउनुस् है जवाफ आयो। त्यतिकैमा सम्बाद टुंगियो। रुममा पुगेपछि घडी हेरें। सुबास गएको १ घण्टा भैसकेछ। पुग्नासाथ फोन गर्छु भनेको थियो फोन गरेन। उ अर्कै सुरूमा छ शायद भुल्यो होला। अनुमान लगाएँ र आँफै फोन डायल गरेँ तर सम्पर्क हुन सकेन। आश्चर्यमा परेँ । पटक पटक डायल गर्दा पनि सम्पर्क भएन । 
 
फेसबुक खोलेँ। फेसबुक खोल्नासाथ एउटा समाचार देखा पर्‍यो। 'आज बिहान ७:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कबिहीन।'  मुटुको धड्कन एक्कासी बढ्यो, श्वास रोकिएला जस्तो भयो, हात खुट्टा थर्थरी काप्न थाले, संसार नै घुम्न थालेजस्तो लाग्यो। भगवानसंग प्राथना गर्नु बाहेक मसंग अरु कुनै बिकल्प भएन ।
 
त्यसबीचमा पटक पटक फुलमायालाई पनि फोन गरेँ तर सम्पर्क भए। उसको घर परिवारको नम्बर पनि थाहा भएन। फुलमायालाई सम्पर्क गर्ने कुनै उपाय मसंग भएन।   करिब चार घण्टापछि बिमान म्याग्दीमा दुर्घटना भएको अवस्थामा फेला परेको र बिमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुहरुको मृत्‍यु भएको खबर आयो।  छाती पिटेँ, धेरै रोएँ कराएँ तर सुबास कहिल्यै नफर्किने गरी संसार छोडेर गयो। 
    
सोचेँ, विचरी फुलमाया के गर्दै होली? कस्तो अवस्थामा होली?? कति भौतारिएकी होली? यस्तो समाचार सुन्दा कसरी सहन सक्ली? यस्तै प्रश्नहरूले दिमाग भरियो। केही सोच्न सकिन । उक्त दुर्घटना भएको पनि तीन दिन बितिसकेछ। आज फागुन १५ गते, सुबास र फुलमायाको बिहे हुन भनेको दिन। दैबले यस्तो खेल खेल्यो। यता सुबासको त्यस्तो चाल बनायो। उता फुलमायाको आजसम्म पनि कुनै पत्तो छैन।
 
बस्दै थिएँ, पत्रिकावाला दाई किरिरिरी साइकलको घण्टी बजाउँदै आए र पत्रिका हुत्याएर गए। भुइँको पत्रिका उठाएँ। पत्रिका खोल्नासाथ एउटा तस्बिर देखापर्‍यो। समाचारको शिर्षक थियो थियो-'तीन दिन अघिदेखि हराइरहेकी मुस्ताङकी फुलमाया तामाङ मृत अवस्थामा फेला, साथमा सुसाइड नोट भेटियो।'
म छाँगाबाट खसेजस्तो भएँ त्यो तस्बिरमा उहीँ फुलमाया मुस्कुराइरहेकी थिइँ  तर मलार्इ उसको मुस्कान मन परेन, मलार्इ उस्को तस्बिर मन परेन, मलार्इ यो समाचारको शिर्षक मन परेन, यो पत्रिका नै मन परेन।
 
आँखाबाट आँशुहरु बर्बरी खसेँ। मैले आँशु बगाउनु भन्दा अरु गर्न सक्ने पनि केही थिएन। मन थामेरै भएपनि समाचार पूरा पढेँ। समाचारको अन्तिममा फुलमायाले लेखेको 'डेथ नोट'को सारांश यस्तो थियो। 'सुबास, फूलबाट सुबास नै खोसिसकेपछि फूलको कुनै अर्थ रहँदैन। हामीले मुक्तिनाथलाई साक्षी राखेर खाएको बाचा कसम म तोड्न सक्दिन। फागुन १५ का दिन तिम्रो हातबाट सिन्दुर लगाउने सपना अधुरै हुने भो। तिमीले मलाई एक्लै यो संसारमा छोडेर गयौं त्यसैले म पनि तिम्रै पछिपछि आउँदैछु।तिम्रो हातको सिन्दुर लाउने धोको अब स्वर्गमै पुरा गर्नेछु। तिमी र म सदाका लागि एक हुनेछौं। हामीले गर्नेछौं स्वर्गमा बिहे। 
 
बाबा-आमा छोरीको कत्ति पिर नलिए। छोरीको घरमा आउन कत्ति हतार नगरे। छोरीको घर आएपछि फेरि फर्किएर संसार देख्न पाइँदैन। बरु हाम्रो नामबाट माथि देउरालीमा फुल चढाइदिए । 
सुबास, म आउँदैछु पख सुबास्….।।'
अलबिदा सुबास फुलमाया ...
हवाइ दुर्घटनामा दिवंगत भएका सम्पुर्णको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली।

 
Posted on 03-01-16 2:29 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

this is look like perfect and true story. I really love to read this story.
thank you !
 
Posted on 03-01-16 2:29 PM     [Snapshot: 64]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 01-Mar-16 02:29 PM

 
Posted on 03-01-16 5:42 PM     [Snapshot: 180]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन कटक्क खायो यो पढेर !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters